Advertisement

कोहलपुर–नेपालगन्ज सडकखण्ड तत्काल मर्मत गर्न माओवादी केन्द्रको खबरदारी 


कोहलपुर– नेपालगन्ज सडकखण्ड तत्काल मर्मतको माग गर्दै नेकपा ( माओवादी केन्द्र ) कोहलपुर नगर समितिले सडकमै उभिएर खबरदारी गरेको छ। बुधबार हवल्दारपुर स्थित सडक खण्डमा पत्रकार सम्मेलन आयोजना गर्दै नगर समितिले जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो।

पत्रकार सम्मेलनमा नगर समितिका अध्यक्ष बलबहादुर खड्का (अबिरल ) ले लामो समयदेखि मर्मत नहुँदा सवारी साधन मात्र नभई पैदल यात्रु समेत जोखिममा परेको बताए। सडक मर्मतका लागि खनेर छाडिएका खाल्डाले दुर्घटनाको जोखिम बढाएको उल्लेख गर्दै उनले तत्काल काम सुरु नगरे सडक डिभिजन कार्यालय नेपालगन्जमा तालाबन्दी गर्ने चेतावनी दिए।

खड्काले यसअघि २१ साउनमा जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगन्जलाई ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए। “पहिलो चरणमा ध्यानाकर्षण पत्र बुझाएका थियौं , त्यसको कुनै सुनुवाई भएन। अब पनि ७ दिनभित्र प्रक्रिया सुरु नभए तालाबन्दी गर्न बाध्य हुनेछौं ,” उनले भने।

पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) धर्मराज जोशीलाई सडक मर्मत प्रक्रियाबारे प्रश्न गर्दा उनले कुनै आन्दोलनको जानकारी नभएको बताउँदै, “मेरो कार्यकालमा सरकारी कार्यालयमा तालाबन्दी हुन दिन्न। अटेर गरे कानुनबमोजिम कारबाही गर्छु,” स्पष्ट चेतावनी दिए।

सडक डिभिजन कार्यालय नेपालगन्जका निमित्त कार्यालय प्रमुख ई. रामसागर हरिजनले निर्माण कम्पनीलाई बारम्बार ताकेता गरिएको तर वर्षायाम र निरन्तर पानी परेकाले काम अघि बढ्न नसकेको बताए। खड्काले सडक जस्तो संवेदनशील विषयमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालय दुवैले लापरबाही गरेको आरोप लगाउँदै सचेत रहन सबैलाई आह्वान गरे।

गत जेठ २१ गते मर्मतका लागि खनेको खाल्डोमा भे ९ प ८१५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर –२ का ३३ वर्षीय सरोज मरासिनीको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *