Advertisement

आरनिको सेकण्डरी स्कूलमा यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

मधुवन (बर्दिया) — आरनिको इङ्ग्लिस मिडियम सेकण्डरी स्कूल, मधुवन–६, बर्दियाले कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा किशोरावस्थामा देखापर्ने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन, सुरक्षित यौन व्यवहार, महिनावारी स्वच्छता, संक्रमणबाट बच्ने उपाय, बाल विवाह र लैङ्गिक हिंसा विरुद्ध सचेतना तथा यौन दुरुपयोग रोकथामका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। विशेष सत्रमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा–बाकेका कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपिक सर्जन डा. इन्द्रनिल घोषले सहजीकरण गर्नुभएको थियो।

उहाँले संवेदनशील विषयहरूलाई स्पष्ट र सरल भाषामा प्रस्तुत गर्दै विद्यालय र अभिभावकको सक्रिय भूमिकाले मात्र किशोर–किशोरीलाई स्वास्थ्य जोखिमबाट जोगाउन सकिनेमा जोड दिनुभयो। डा. घोषले भने, “किशोरावस्था जीवनको महत्वपूर्ण चरण हो। यस समयमा सही जानकारी, सुरक्षित अभ्यास र खुला संवाद अपरिहार्य हुन्छ।” कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई जानकारीमूलक, उपयोगी तथा जीवनोपयोगी भएको बताएका छन्। विद्यालयका संस्थापक जिवन मल्लले स्वास्थ्य, शिक्षा र सामाजिक चेतनामूलक गतिविधिहरूलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *