माओवादी केन्द्रले १७ कात्तिकमा रूपन्देही– ३ मा हुने उपनिर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ । माओवादीले रुपन्देही निर्वाचन क्षेत्र नंं ३ को बैठक राखेर आकांक्षीसँग छलफल गरेको छ ।
निर्वाचन क्षेत्रबाट चाररपाँच जना साथीहरूले इच्छा जाहेर गरेको माओवादी लुम्बिनी प्रदेश समिति अध्यक्ष सुदर्शन बरालले बताए । उनले भने, ‘केन्द्रले उम्मेदवारको नाम सिफारिस गर्न भनेको छैन । तर, निर्वाचन क्षेत्रमा बैठक बसेर उपनिर्वाचनमा माओवादी लड्ने निर्णय गरेका छन् । सोनिया यादव , फैज अहमद खाँ, मनिष जोशी र तीरबहादुर रोकाका बारेमा छलफल भएको छ । साथीहरूमध्येमा सोनियाजीका बारेमा सकारात्मक कुरा भएको छ ।’

रुपन्देहीको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार उठाउने तयारी भइरहेको माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताए । उनले भने, ‘निर्वाचन क्षेत्र र जिल्लामा छलफल भइरहेको छ । पार्टीको पदाधिकारी बैठक बसेर उम्मेदवारको नाम सिफारिस गर्न भन्छौँ । त्यसपछि उम्मेदवारको टुंगो लाग्ला । तर, उपनिर्वाचनमा माओवादीले आफ्नो उम्मेदवार उठाउँछ ।’
यही महिनाको पहिलो हप्तातिर जिल्ला र निर्वाचन क्षेत्रको बैठक बसेर उम्मेदवारका बारेमा छलफल भएको माओवादी रुपन्देही जिल्ला इन्चार्ज सोनिया यादवले बताइन् । उनले भनिन्, ‘निर्वाचन क्षेत्रमा पार्टीको बैठक बसेर पहिलो चरणको छलफल भएको छ । मलगायतका तीनरचार जना साथीहरूका बारेमा छलफल भएको छ ।’
योपटक माओवादीले आफ्नो चुनाव चिह्नमा भोट हाल्ने र आफ्नै उम्मेदवार उठाउने यादवले बताइन् । उनले भनिन्, ‘योपटक हामी कसैसँग गठबन्धन गर्न जाँदैनौँ । हामीसँग कोही गठबन्धन गर्न आए ठीक छ । तर, माओवादीको चुनाव चिह्नमा भोट हाल्छौँ । अब अरुको चुनाव चिह्नमा भोट हाल्दैनौँ ।’
रुपन्देही निर्वाचन क्षेत्र नं। ३ का सचिव जोशीले दुईपटकका निर्वाचनमा माओवादीले आफ्नो चुनाव चिह्नमा भोट हाल्न नपाएकाले योपटक आफ्नै चुनाव चिह्नमा भोट हाल्ने गरी उम्मेदवारी दिने बताए । उनले भने, ‘पार्टीको निर्वाचन क्षेत्रको समितिले योपटक अरुको चुनाव चिह्नमा भोट नहाल्ने निर्णय गरेको छ । यदि केन्द्रले केन्द्रीयता लादेमा यहाँको समितिले मान्दैन । हामी योपटक हाम्रो चुनाव चिह्नमा भोट हाल्छौँ ।’
जोशीले पनि आफू उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारको आकांक्षी रहेको बताए । उनले भने, ‘म पनि उम्मेदवारको आकांक्षी हुँ । स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट दिने भनेको थियो । कांग्रेससँग गठबन्धन हुँदा मैले पछि हट्नुपरेको थियो । अहिले पार्टीले टिकट दिएमा निर्वाचन लड्ने हो ।’
त्यस्तै, जिल्ला इन्चार्ज रहेकी यादव पनि उम्मेदवारको आकांक्षी हुन् । उनी माओवादीबाट नै २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य थिइन् । यादव शहीद परिवार पनि हुन् ।













Leave a Reply