नेपाल प्रधानाध्यापक सङ्घ (PAN) बाँकेको आयोजनामा पहिलो जिल्ला शिक्षा सम्मेलन– २०८२ शनिबार कोहलपुरमा सम्पन्न भएको छ। एक दिने यस विशेष कार्यक्रममा बाँके जिल्लाभरिका २५ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, आठवटा पालिकाका शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति का अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा शिक्षा प्रेमीहरू उल्लेख्य संख्यामा सहभागी भएका थिए।
कार्यक्रम कोहलपुर नगरपालिका उपप्रमुख सङ्गीता सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि सुवेदीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको आधार निर्माण गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै भनिन्– “राज्यको ढुकुटी सीमित हुन्छ। माग गरिएको सबै कुरा तुरुन्तै पाइँदैन। तर, विद्यालयमा जीवन अर्पण गरेका शिक्षकहरूको भविष्य सुनिश्चित गर्न राज्यले अग्रसरता लिनैपर्छ।”
कार्यक्रमको अध्यक्षता प्यान बाँकेका अध्यक्ष टर्क बहादुर खत्रीले गर्नुभएको थियो। उहाँले गुणस्तरीय शिक्षा प्रभावकारी बनाउनका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति र समुदायबीच गहिरो सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै आगामी दिनमा शिक्षकहरूको हकहित र क्षमता अभिवृद्धिका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथिका रूपमा संविधान सभा सदस्य तथा पूर्वमन्त्री दलबहादुर सुनार सहभागी हुनु भएको थियो। कार्यक्रममा स्थानीय तहका शिक्षा प्रमुखहरूले सामुदायिक विद्यालयलाई सशक्त बनाउन नीतिगत पहल, स्रोत परिचालन र अभिभावकको सहभागिता बढाउनुपर्ने धारणा राखेका थिए ।
सम्मेलनमा “समानता र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको सशक्तिकरणको” भन्ने मूल नारासहित प्यानल डिस्कसन समेत गरिएको थियो। डिस्कसनमा खगेन्द्र मल्ल, जितबहादुर शाह, दलबहादुर सुनार, अन्जना पाण्डे, बद्री सापकोटा र डा। विष्णु केसी सहभागी थिए भने सहजकर्ताको भूमिका ममता थापाले निर्वाह गर्नुभएको थियो।
ज्ञान बहुमुखी क्याम्पसका चिफ टेकबहादुर गुरुङले “गुणस्तरीय शिक्षामा विद्यमान चुनौती” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। अन्तिम सेसनमा शिक्षाविद् दीपक भण्डारीले “प्रभावकारी शिक्षाका लागि प्रविधिमा आधारित समाधान” विषयमा सत्र सञ्चालन गर्दै डिजिटल प्रविधि र नव प्रवर्तनशील अभ्यासलाई सामुदायिक विद्यालयमा अवलम्बन गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो।
कार्यक्रम सत्रहरूमा विभिन्न वक्ताहरूले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउन शिक्षकको दक्षता विकास, स्रोतसाधनको उचित व्यवस्थापन, नीति–नियमको कार्यान्वयन र समुदायको सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकाल्नुभयो।
एकैदिन देशका सातै प्रदेशका विभिन्न जिल्लामा सम्पन्न शिक्षा सम्मेलनहरूलाई सामुदायिक विद्यालय सुधार र शिक्षा क्षेत्रमा ऐक्यबद्धताको राष्ट्रिय अभियानका रूपमा हेरिएको छ।













Leave a Reply