Advertisement

संविधान दिवसको अवसरमा माओवादी केन्द्र बाँकेको ४ स्थानमा शुभकामना आदानप्रदान

कोहलपुर  / ११ औं संविधान दिवसको अवसरमा माओवादी केन्द्रले बाँकेमा पालिका स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को आयोजनामा कोहलपुर, नेपालगन्ज, खजुरा र राप्ती सोनारीमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

कोहलपुर नगर समिति र बैजनाथ गाँउ समितिको संयुक्त आयोजनामा कोहलपुरस्थित सहिद स्मृति केन्द्रमा , खजुरा गाउँपालिका कमिटी र जानकी गाउँपालिका समितिको संयुक्त आयोजनामा खजुरामा, राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको संयुक्त आयोजनामा सहिद स्मृति पार्क फत्तेपुरमा तथा नेपालगन्जमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्रले जनाएको छ । कोहलपुर र नेपालगञ्जमा आयोजित कार्यक्रम लाई माओवादी केन्द्रकी स्थाई समिति सदस्य पुर्ण कुमारी सुवेदी , जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्स , खजुरामा आयोजित कार्यक्रम लाई स्थाई समिति सदस्य महेश्वर जंग गहतराज अथक , नेता आई पि खरेल , डम्बर बिक तुफान लगायतले सम्बोधन गरेका थिए ।

त्यसै गरि राप्ती सोनारीमा आयोजित कार्यक्रममा युवा नेता नरेन्द्र न्यौपाने , चिम बहादुर घर्ती निर्मल , पालिका अध्यक्ष जनक थारू , राम लखन थारू लगायतले सम्बोधन गरेका थिए । हालको संविधान महान जनयुद्ध , १९ दिने आन्दोलन , मधेस आन्दोलनको उपलब्धीको दस्ताबेज भएको भन्दै हर हालतमा यसको संरक्षण गर्दै आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए । उनीहरूले माओवादीले १० वर्ष अघि देखी उठाउँदै आएको र हालैको जेन्जी आन्दोलनको मुख्य मागका रुपमा रहेको प्रत्यक्ष कार्यकारी हुने शासकीय स्वरुप अवलम्बन गनु पर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, विभिन्न टोलस्तरीय समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सहभागीहरूले संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाउँदै लोकतान्त्रिक अधिकारको रक्षा, सामाजिक न्याय र समावेशी विकासलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेताहरूले आफ्ना सम्बोधनमा संविधानले सुनिश्चित गरेका हक अधिकारलाई कार्यान्वयन गर्ने जिम्मेवारी माओवादी केन्द्रले अग्रणी रूपमा निर्वाह गर्ने बताएका थिए ।

साथै, पार्टी संगठनलाई अझ सबल बनाउन निरन्तर जनताबीच जाने र आधारभूत समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता पनि व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *