कोहलपुर बागेश्वरी इ .मि. स्कुल बाँके जिल्ला स्तरीय एन्फा अन्डर –१४ विद्यालय फुटबल प्रतियोगितामा उपविजेता बनेको छ । सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल (छात्रा) एन्फा अन्डर –१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रङ्गशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
सिद्धार्थलाई फाइनलको ट्रफी दिलाउने क्रममा कमल परियारले १९ औं र ३९ औं मिनेटमा गोल गर्नु भयो । टोलीका लेखराज भारतीले ४१ औं मिनेटमा गोल गर्नु भएको थियो । कोहलपुर बागेश्वरीका आशिष बलले सुरुआतको ३१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो ।
बाँके जिल्ला फुटबल सङ्घले आयोजना गरेको प्रतियोगितामा गत भदौ २० गते सुरु भएको थियो । तर जेनजी आन्दोलनका कारण प्रतियोगिता बिचमै राखिएर कात्तिक महिनामा भएको हो प्रतियोगितामा छात्र तर्फ सिद्धार्थका युवराज विक र छात्रा तर्फ नेपालगन्ज सेन्ट जेभियर्सको करिष्मा पासीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गर्नु भयो ।
प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क बहादुर धामी, आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाही, महिला फुटबल समिति बाँके अध्यक्ष नितु शाह चन्द, उपाध्यक्ष रोजी सिंह, महासचिव नगिना श्रेष्ठ, नेपालगन्ज म्याराथनका संस्थापक टि.एस. ठकुरी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, फुटबलका पूर्व राष्ट्रिय खेलाडी गोविन्द प्रसाद श्रेष्ठ, किशोर जंग राणा लगायतले पुरस्कृत गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले खेलकुदलाई राज्यले प्राथमिकतामा राखेर स्वस्थ नागरिक उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष शाहीले बाँकेबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्न एन्फा अन्डर –१४ फुटबल प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए ।
विद्यालयका विद्यार्थीहरूले प्रतियोगिताभर उत्कृष्ट खेलकुद कौशल, अनुशासन र खेल –भावना प्रदर्शन गरेका थिए ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको संघर्ष, लगनशीलता र उल्लेखनीय प्रदर्शनप्रति बधाई ज्ञापन गर्दै उनको सफलतामा गर्व व्यक्त गरेको छ । साथै, आगामी दिनहरूमा अझ उत्कृष्ट र प्रेरणादायी खेल प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।














Leave a Reply