आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन नेपाली कम्युनिस्ट पार्टी सहित १२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन्। आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रिया सुरु गरेको हो ।
पहिलो दिन दर्ता भएका दलमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा ११औँ नम्बरमा दर्ता भएको छ। नेकपाका तर्फबाट राजेन्द्रप्रसाद पाण्डेसहितका नेता–कार्यकर्ता सोमबार आयोगमा पुगेर दर्ता प्रक्रिया पूरा गरेका थिए।
निर्वाचन प्रयोजनका लागि दर्ता हुन आएको दलहरूमध्ये—पहिलो नम्बरमा सन्ध्या खनाल नेतृत्वको देश विकास पार्टी, दोस्रोमा दुर्गा सोव नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, तेस्रोमा द्रोण अधिकारी नेतृत्वको देशभक्त समाज पार्टी, चौथोमा गीता क्षेत्री नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी, पाँचौँमा नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी दर्ता भएका छन्।
त्यसैगरी छैटौँ नम्बरमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, सातौँमा प्रभु साह नेतृत्वको आम जनता पार्टी, आठौँमा बुद्धलाल मेचे नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशन पार्टी, नवौँमा विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, दशौँमा अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी, एघारौँमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा, र बाह्रौँ नम्बरमा मेघबहादुर कामी नेतृत्वको नेपाल मानवतावादी पार्टी दर्ता भएका छन्।
आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता गरिसक्नुपर्ने जानकारी आइतबार सार्वजनिक गरेको थियो।
यसैबीच आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएको दलको संख्या ३ पुगेको आयोगले जनाएको छ।
पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी, दोस्रोमा बहुजन शक्ति पार्टी, तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भएका छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरिसक्नुपर्ने अन्तिम मिति मंसिर ७ गते तोकिएको छ।













Leave a Reply