कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कोहलपुर महोत्सव २०८२ आज देखी सुरु हुदैछ । २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव सातौँ शृङ्खलाका रूपमा आज दिउँसो १ बजे औपचारिक रूपमा उद्घाटन हुँदैछ ।
कोहलपुर न्युरोड स्थित खुल्ला मैदानमा सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदिप भट्टराईले जनाएका छन । आयोजक कोहलपुर उद्योग वाणिज्य सङ्घले महोत्सवका सबै भौतिक, व्यवस्थापकीय तथा सुरक्षा तयारी अन्तिम चरणमा पुगेको स्पष्ट पारेको हो ।
आयोजक समितिका संयोजक भट्टराईका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न निर्णायक योगदान पुर्याउने विश्वास लिइएको छ । उनले महोत्सव कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन विकासको साझा अभियानका रूपमा सञ्चालन गर्न लागिएको बताए ।
महोत्सवमा ३०० स्टल
महोत्सवमा कुल ३०० वटा स्टल राखिएको छ । जसमा २५० व्यावसायिक, २२ होटल, १५ प्रवर्द्धनात्मक, १० विषयगत प्रदर्शनी स्टल र १७ रेष्टुरेन्ट सहितको थारू गाउँ विशेष आकर्षणका रूपमा समावेश गरिएको छ। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषि तथा विज्ञान प्रदर्शनी तथा जलपरी जस्ता विशेष कार्यक्रम सञ्चालन हुनेछन्।














Leave a Reply