९ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि सुरु भएको कोहलपुर महोत्सव २०८२ भव्य रूपमा उद्घाटन गरिएको छ। विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन । कोहलपुर न्यूरोडमा सञ्चालन भइरहेको महोत्सवको उद्घाटन समारोहमा वैदिक विधिअनुसार स्वस्ति वाचन सहित दिप प्रज्वलन गरिएको थियो।
पौष १८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले महोत्सवले बाँके जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे । प्रतिकूल मौसमका बाबजुद पनि कोहलपुर उद्योग वाणिज्य संघको विशेष आग्रहमा आफू लगायत महासंघका केन्द्रीय पदाधिकारीहरू कोहलपुर आएको उल्लेख गर्दै ढकालले महोत्सवप्रति देखिएको उत्साहले आफू हर्षित भएको बताए । देशव्यापी रूपमा सञ्चालन हुने मेला–महोत्सवहरूले सम्बन्धित क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ थियो ।
कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवर्द्धनमा यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा पूर्व संघीय मन्त्री महेश्वर गहतराज (अथक) ले कोहलपुर महोत्सव कोहलपुरका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय पहिचान र विकासलाई थप मजबुत बनाउने बताए । उनले कोहलपुर महोत्सवलाई सबैको सबैको उत्सवका रुपमा विकास गरिनुपर्ने धारणा राखेका थिए ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । वि।सं। २०६५ सालदेखी कोहलपुरमा महोत्सव संस्कृतीको विकास भएको स्मरण गर्दै भट्टराईले सातौं श्रृंखलासम्म आईपुग्दा कोहलपुरमा महोत्सव संचालनकालागी निर्धारण गरीएको स्थान साँघुरो हुँदै गएको बताए । स्थानीय सरकारबाट स्पष्ट र दीर्घकालीन नीतिगत निर्देशन नहुँदा बाध्यतावश कोहलपुर न्यूरोडस्थित खुलामैदानमा महोत्सव सञ्चालन गर्नुपरेको भन्दै संयोजक भट्टराईले आगामी दिनमा व्यवस्थित, सुरक्षित र पर्याप्त खुला मैदानको पहिचान तथा व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग निरन्तर पहल र समन्वय गरिने प्रतिबद्धता समेत जनाए ।
महोत्सवले कोहलपुरको आर्थिक गतिविधि विस्तार, स्थानीय व्यवसाय प्रवद्र्धन, सांस्कृतिक पहिचान संरक्षण तथा सामाजिक एकताको सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको उनको भनाई थियो । छन् । “कोहलपुर महोत्सव मार्फत कृषि, पर्यटन, सूचना प्रविधि, विद्युतीय अटोमोबाइल, स्थानीय हस्तकला, स्वास्थ्य, शिक्षा, स्थानीय कला–संस्कृति लगायत विविध औद्योगिक तथा व्यावसायिक सामग्रीहरूको प्रदर्शनी र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ” संयोजक भट्टराईले भने, “यस महोत्सवले लगानीका सम्भावनाहरूको खोजी, व्यावसायिक प्रतिस्पर्धाका लागि अनुकूल वातावरण निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरूको प्रदर्शन र प्रचार–प्रसार, आधुनिक प्रविधिको जानकारी, कला–साहित्य तथा संस्कृतिको जगेर्ना, साथै निकासीयोग्य वस्तुहरूको पहिचानजस्ता दीर्घकालीन तथा गहन उद्देश्यहरू बोकेको छ ।”
उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य , उप–प्रमुख संगिता सुवेदी तथा विभिन्न वडाध्यक्षहरूले महोत्सवले कोहलपुरलाई आर्थिक हबका रूपमा विकास गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले विकासका साझा एजेन्डामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सकारात्मक सन्देश भएको उल्लेख गरे ।
लुम्बिनी, कर्णाली र बागमती प्रदेशका उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले अन्तर–प्रदेश व्यापारिक सम्बन्ध विस्तार र सहकार्यको आवश्यकता औँल्याएका थिए ।














Leave a Reply