कोहलपुरमा सम्पन्न चौथो वडा कप फुटबल प्रतियोगिताको उपाधि कोहलपुर नगरपालिका वडा नं. १ (कौशिलानगर) ले जित्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल खेलमा वडा नं. १ ले वडा नं. २ लाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
कोहलपुर नगरपालिका वडा नं. १ स्थित एभरेष्ट युथ स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेल निर्धारित समयभरि अत्यन्तै कडा प्रतिस्पर्धाका बीच सम्पन्न भएको थियो । खेलको पहिलो हाफ समाप्त हुनै लाग्दा वडा नं. १ का आशिष गुरुङले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा वडा नं. २ ले पनि आक्रामक खेल प्रदर्शन गर्दै बराबरी गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो ।
निर्धारित समयसम्म दुबै टोलीबाट समान गोल भएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । टाइब्रेकरमा वडा नं. १ ले संयमित र प्रभावकारी प्रदर्शन गर्दै उपाधि सुनिश्चित गरेको हो ।
खेलको समापन समारोहमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सहयोगदाता तथा कोहलपुर वडा नं. १ बाट राष्ट्रिय स्तरसम्म फुटबल कौशल प्रदर्शन गरेका खेलाडी श्यामसेन ठकुरी र क्षितिज थापामगरलाई सम्मान गरिएको थियो । क्लवका सचिव सरोज केसीले समापन समारोहकै बिच क्लबका निर्वतमान पदाधिकारीहरूलाई कदरपत्र प्रदान गरिएको जानकारी दिए ।
समापन सत्रमा कोहलपुर वडा नं. १ का अध्यक्ष बद्रीप्रसाद जैसी, वडा नं. २ का अध्यक्ष हरसिंह कठायत तथा कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीलगायतले मन्तव्य राख्दै यस्ता प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रति रुचि बढाउनुका साथै प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।















Leave a Reply