Advertisement

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति २४९९ सदस्यीय बन्ने, २९ गते शपथ

२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । विभिन्न घटकहरू मिलेर बनेको पार्टीले यही २९ गते नयाँ केन्द्रीय सदस्यहरूको शपथ गराउन लागेको हो ।

सो पार्टीका नेता प्रेमबहादुर सिंहका अनुसार, केन्द्रीय समितिको संख्या २४९९ हुनेछ ।

‘२९ गते १ बजे केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहण हुन्छ,’ सिंहले अनलाइनखबरसँग भने, ‘२९ गतेभित्रै केन्द्रीय कार्यसमिति, सचिवालय, केन्द्रीय कार्य संयोजन समितिको गठन पनि गरिसक्ने निर्णय भएको छ ।’

२४९९ मध्ये सो दिन करिब २३ सय सदस्यले शपथ लिनेछन् । बाँकी केही सदस्यको नामावली टुंगिन बाँकी रहेको उनले बताए ।

त्यस्तै, ६ सय १ जनाको केन्द्रीय कार्यसमिति बन्ने पनि उनले जानकारी दिए । सचिवालय भने निश्चित संख्याको हुने उनले बताए । यद्यपि कति सदस्यीय सचिवालय बन्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।

सचिवालय भन्दा अझै सानो केन्द्रीय कार्यसंयोजन समिति पनि बन्ने उनले बताए ।

केन्द्रीय सदस्यहरूको शपथ डिजिटल र भौतिक दुवै माध्यमबाट हुने उनले बताए ।

‘काठमाडौंमा उपलब्धहरूको यहीँ गर्ने नहुनेलाई प्रदेशमा उपयुक्त ठाउँमा डिजिटल माध्यमबाट गर्ने छलफल भएको छ,’ सिंहले भने, ‘सबैलाई एकै ठाउँबाट गर्दा टाढा टाढाका मान्छेलाई आइपुग्न गाह्रो हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *