आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फ बाट जुझारु युवा नेता दीपक जि.एम. चुनावी मैदानमा हुनुहुन्छ । उहाँको उम्मेदवारी र प्राथमिकता बारे गरिएको छोटो कुराकानि ।
प्रश्न १ :प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिनुका मुख्य कारण के हुन्?
यो निर्वाचन मेरो व्यक्तिगत महत्वाकांक्षा होइन, पुस्तागत जिम्मेवारी हो। बाँके–३ मा युवाको सपना, किसानको पीडा, श्रमिकको पसिना र आम नागरिकको भरोसा बोकेको प्रतिनिधि आवश्यक छ। पुरानै शैलीले अब समस्या हल हुँदैन भन्ने महसुसले मलाई मैदानमा ल्याएको हो। म यस बाँके जिल्लाको बैजनाथको माटो हुर्केर उहाँको समस्या र सम्भावना बारे राम्रो अध्ययन गरेको छु । यस क्षेत्रमा सधैँ बाहिरी क्षेत्रका मानिसहरू प्रतिष्पर्धामा आउने चुनाव जितेर जाने तर यस क्षेत्रको विकास बारे खासै पहल नगरेको अवस्था हो । क्षेत्र ३ अन्तरगतको बैजनाथ , खजुरा र जानकी गाउँपालिका र नेपालगन्ज उम महानगरपालिका अन्तरगत २ वटा वडाहरू समेत पर्ने भएकाले यस क्षेत्रको समग्र विकासका लागी मेरो उम्मेदवारी हो ।
प्रश्न २: तपाईंलाई युवा उम्मेदवारका रूपमा कसरी हेर्नु भएको छ?
युवापन उमेर होइन, सोच हो। म निर्णयमा साहस, काममा गति र नीतिमा स्पष्टता लिएर आएको छु। जेन्जी पुस्ताले परिवर्तन खोजिरहेको छ, र त्यो परिवर्तनको आवाज म संसदसम्म पुर्याउन चाहन्छु।
प्रश्न ३: तपाईंको चुनावी अभियानमा जेन्जी (Gen-Z) को भूमिका कस्तो छ?
जेन्जी मेरो अभियानको मेरुदण्ड हो। घरदैलोदेखि सामाजिक सञ्जालसम्म, नीति बहसदेखि संगठन निर्माणसम्म उनीहरू अग्रपंक्तिमा छन्। रोजगारी, शिक्षा, प्रविधि र अवसरको प्रश्नमा जेन्जीको विश्वास जित्नु मेरो प्राथमिकता हो।
प्रश्न ४: चुनाव चिन्ह ‘तारा’ लाई तपाईं कसरी अर्थ्याउनु हुन्छ?
तारा आशाको प्रतीक हो। अँध्यारोमा बाटो देखाउने उज्यालो। बाँके–३ का जनताका समस्या समाधान गर्ने स्पष्ट दिशा र उज्यालो भविष्यको संकल्प नै ‘तारा’ हो। देश लाई स्थाई निकास दिन १९ बाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी प्रति सबैको आशा छ । सुशासन र स्थिरताका लागी यस पटक सबैले तारा चुनाव चिन्हमा मतदान गरिदिनुहुन अनुरोध छ ।
प्रश्न ५: तपाईं जित्नुभयो भने पहिलो प्राथमिकता के हुन्छ?
पहिलो— स्थानीय रोजगारी सृजना दोस्रो— युवा सीप विकास र उद्यमशीलता तेस्रो— स्वास्थ्य र शिक्षामा पहुँच र चौथो— भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता यी चार स्तम्भमा ठोस काम सुरु गर्नेछु।
प्रश्न ६: बाँके–३ का मतदातालाई तपाईं के सन्देश दिन चाहनुहुन्छ?
यो चुनाव व्यक्ति होइन, पुस्ताको हो। मौन बस्ने होइन, परिवर्तन रोज्ने समय हो। तारा चिन्हमा मत दिएर उज्यालो भविष्यको पक्षमा उभिन म सबैलाई आग्रह गर्छु।
प्रश्न ७: अन्त्यमा, तपाईंलाई किन जिताउनुपर्छ?
म वाचा होइन, कामको राजनीति गर्छु। म सुन्ने, सिक्ने र समाधान गर्ने प्रतिनिधि बन्न चाहन्छु। बाँके–३ को आवाज संसदमा बुलन्द बनाउने प्रतिबद्धताका साथ म मैदानमा छु।













Leave a Reply