पार्टीको विधान विपरित गई नेकपा एमाले सूर्य चिन्ह लिई बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरि चुनावमा होमिएका पुर्व मन्त्री मोहम्मद ईस्तियाक राईलाई पार्टीले कारवाही गर्दै पार्टीको महासचिव लगायत सबै जिम्मेवारी र सदस्यबाट समेत सबै हटाएको जनाएको छ ।
जनता समाजवादी पार्टीले आज विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गरेको भन्दै राईलाई पद तथा सदस्यताबाट निष्कासित गरिएको विज्ञप्ति मार्फत जनाएको छ ।
जसपाले नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग संयुक्त रूपमा आगामी फागुन २१ गते हुने निर्वाचनमा एकीकृत चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको जनाएको छ। सोही अनुसार निर्वाचन आयोगमा दर्ता गरी उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय रहेको पार्टीले उल्लेख गरेको छ । तर नेपालगन्ज उपमहानगरपालिका–१५, बाँके निवासी तथा जसपाका महासचिव मोहम्मद इस्तियाक राईले पार्टीको आधिकारिक निर्णय विपरीत नेकपा (एमाले) को चुनाव चिन्ह “सूर्य” बाट उम्मेदवारी दर्ता गरी क्षेत्र नम्बर २ बाट चुनाव लडिरहेका छन् ।
उनले पार्टीले दिएको जाँतो चुनाव चिन्हको उम्मेदवार मनोनयन पत्रको समेत दुरुपयोग गरेको पुष्टि भएको पार्टीले जनाएको छ। पार्टीका अनुसार राईले सूर्य चिन्हबाट उम्मेदवारी दर्ता गराएको मितिदेखि लागू हुने गरी उनलाई महासचिव सहित पार्टीका सम्पूर्ण जिम्मेवारी तथा सदस्यताबाट हटाइएको हो। राईले आफ्नो स्वार्थका लागि पार्टीको नीतिसमेत बेच्ने गरेको नेताहरु बताउँछन् ।
चुनाव जित्नका लागि उनले जतिबेला जुन सुकै पार्टी संग पनि मिल्न थाले पछि मधेश मुद्दा ओझेलमा परेको भन्दै मुस्लिम तथा मधेसी जनता राई संग रिसाउन थालेका छन् । राईलाई कारबाही गरेपछि उनीसंग पछि नलाग्न आफ्ना नेता तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समेत जसपाले आग्रह गरेको छ ।
यता पार्टीले महासचिवबाट राईलाई हटाएपछि उनी पछाडि लगेका नेता तथा कार्यकर्तामा अन्यौलता छाएको छ । उनीहरू पार्टी विपरित कार्य गरे कारवाहीमा परिने निश्चित रहेको स्रोतले दाबी गरेको छ ।
निर्वाचनमा राईलाई सघाएको पाइए प्रदेश सांसद, पालिका अध्यक्ष तथा वडा अध्यक्षहरू, सदस्यहरू सबैलाई कारबाही हुने जसपाले चेतावनी समेत दिएको स्रोतले बताएको छ ।













Leave a Reply