प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा सल्यान जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टीले अघि सारेका उम्मेदवार रमेश मल्ल बाँके जिल्लाको कोहलपुर आउने भएका छन्। बाँके जिल्लामा रहेका सल्यानी मतदाता, अगुवा तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष भेटघाट गरी सुझाव र सल्लाह संकलन गर्ने उद्देश्यसहित मल्ल माघ २१ गते बुधबार कोहलपुर आउन लागेको उनको चुनावी सचिवालयले जानकारी दिएको छ।
सल्यान जिल्लाबाट राष्ट्रिय राजनीतिमा उदाउँदै गरेका युवा नेता मल्ल जनमुखी सोच, विकासप्रेमी दृष्टिकोण र निरन्तर जनसेवामा सक्रिय व्यक्तित्वका रूपमा स्थापित हुँदै आएका छन्। सल्यानी मतदातामाझ मल्ल इमानदार, ऊर्जावान र जनताको समस्याप्रति संवेदनशील उम्मेदवारको रूपमा लोकप्रिय रहेको बुझाइ छ। यही लोकप्रियता र भरोसाका कारण उनी सल्यानका मतदाताको रोजाइमा परेका छन्।

सल्यान–बाँके समन्वय समितिको आयोजनामा हुने उक्त कार्यक्रममा बाँकेमा बसोबास गर्ने सल्यानी समुदायका प्रतिनिधि, समाजसेवी, युवा, बुद्धिजीवी तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममा मल्लले सल्यान जिल्लाको समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा युवाको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रममा रमेश मल्लसँगै नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरू प्रकाश ज्वाला, टेक बहादुर बस्नेत, भिम प्रकाश कोइराला र उमाकान्त शर्मा समेत सहभागी हुनेछन्। नेताहरूले वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचनको तयारी र जनताको अपेक्षाबारे आफ्ना विचार राख्नेछन्।
सल्यान–बाँके समन्वय समितिले यस कार्यक्रमलाई आपसी सहकार्य, एकता र साझा आवाज निर्माणको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। मल्लको कोहलपुर आगमनले सल्यान र बाँकेबीचको राजनीतिक तथा सामाजिक सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ।













Leave a Reply