Advertisement

प्रहरी प्रमुख कार्कीद्वारा कोहलपुरमा नवनिर्मित मैत्री भवन उद्‌घाटन 

युनाइटेड किङडमको विदेश, राष्ट्र मण्डल तथा विकास कार्यालय (UK FCDO)को सहयोगमा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS)  मार्फत योजना कार्यान्वयन भई इलाका प्रहरी कार्यालय, कोहलपुरको परिसरमा नव– निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन आज औपचारिक रूपमा उद्‌घाटन गरिएको छ।

कार्यक्रममा नेपाल प्रहरीका प्रमुख महानिरीक्षक (प्र.म.नि.) दान बहादुर कार्कीले नवनिर्मित भवनको उद्‌घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा यो पूर्वाधार महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले पीडितमैत्री, गोप्य, सुरक्षित र पहुँच योग्य सेवा प्रदान गर्न यस्ता केन्द्रहरूले प्रहरी सेवामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उद्‌घाटन समारोहमा बोल्दै प्र।म।नि। कार्कीले लैङ्गिक हिंसा, बाल अधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारका घटनामा संवेदनशील र द्रुत प्रतिक्रिया दिन सक्षम संरचना आवश्यक रहेको बताउँदै अन्तर्राष्ट्रिय साझेदारको सहयोगले प्रहरी सुधारका कार्यक्रमहरू थप सुदृढ हुँदै गएको उल्लेख गर्नुभयो।

साथै उहाँले समुदाय– मैत्री प्रहरी सेवाको अवधारणालाई व्यवहारमा उतार्न यस्ता केन्द्रहरू महत्वपूर्ण आधार हुने धारणा राख्नुभयो। कार्यक्रममा बाँके जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, UNOPS तथा UK FCDO  का प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। UNOPSका प्रतिनिधिले परियोजनामार्फत निर्माण सम्पन्न भवन आधुनिक मापदण्डअनुसार सुरक्षित, समावेशी र सेवा– केन्द्रित बनाइएको जानकारी दिनुभयो। UK FCDO का प्रतिनिधिले मानव अधिकार संरक्षण, न्यायमा पहुँच र संस्थागत सुदृढीकरणका क्षेत्रमा नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

नवनिर्मित सेवा केन्द्रबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका उजुरी दर्ता, परामर्श, समन्वय तथा आवश्यक सहयोग एकै स्थानबाट प्रदान गरिने जनाइएको छ। यसले सेवाग्राहीको गोपनीयता, सम्मान र विश्वासलाई प्राथमिकतामा राख्दै प्रभावकारी सेवा प्रवाहमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अन्त्यमा सम्बन्धित निकायहरूले आपसी समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै समुदाय स्तरमै सुरक्षा र न्याय सुनिश्चित गर्न संयुक्त प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *