बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को विकास बहसलाई नयाँ उचाइमा पुर्याएको छ। बाँके २ मा घोषणापत्र सार्वजनिक गर्ने बिष्ट पहिलो उम्मेदवार हुन । काग्रेस एमाले लगायत अन्य दलका उम्मेदवारले घोषण पत्र सार्वजनिक गरेका छैनन् । उनि बाँके २ का सबै भन्दा कम उमेरका उम्मेदवार समेत हुन । सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको प्रतिबद्धता पत्रले “भ्रष्टाचार शून्य बाँके–२” अभियानलाई मूल आत्माका रूपमा अघि सारेको छ।
प्रतिबद्धता पत्रमा नेपालगन्जलाई सूचना प्रविधिमैत्री सेवा र नव प्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ। नागरिकका दैनिक काम सहज बनाउन सिफारिस, कर भुक्तानी र विभिन्न सरकारी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराइने, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने तथा फाइलको अवस्था नागरिकले आफैं अनलाइन ट्र्याक गर्न सक्ने व्यवस्था लागू गरिने उल्लेख छ। उच्च गतिको इन्टरनेटसहित टेक पार्क र इन्कुभेसन सेन्टर स्थापना गरी युवालाई कोडिङ, डिजिटल मार्केटिङ र फ्रिलान्सिङजस्ता सीपमूलक तालिम प्रदान गर्ने योजना प्रतिबद्धता पत्रको महत्त्वपूर्ण आधार बनेको छ।
युवा रोजगारी र उद्यमशीलतालाई प्रतिबद्धता पत्रको मेरुदण्डका रूपमा प्रस्तुत गरिएको छ। बेरोजगार युवाका लागि उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम, युवा उद्यमीलाई बिना धितो सस्तो ब्याजदरमा स्टार्टअप कर्जा तथा कर छुटको व्यवस्था गर्ने प्रतिबद्धताले स्थानीय स्तरमै अवसर सिर्जना गर्ने लक्ष्य लिएको देखिन्छ।
बाढी समस्याको दीर्घकालीन समाधानतर्फ प्रतिबद्धता पत्रले ठोस योजना अघि सारेको छ। राप्ती नदी मा वैज्ञानिक र दिगो तटबन्ध निर्माण, बगर क्षेत्रलाई व्यावसायिक तरकारी खेतीसँग जोड्ने र बाढी–डुबान व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने रणनीतिले विकासलाई जोखिम व्यवस्थापनसँग जोडेको छ। भूमिहीन सुकुम्बासी लगायत भूमि समस्याको नीतिगत समाधान गर्ने प्रतिबद्धताले सामाजिक न्यायको सवाललाई पनि समेटेको छ।
पर्यटन तथा धार्मिक अर्थतन्त्र सुदृढीकरणका लागि लुम्बिनी–नेपालगन्ज पर्यटन सर्किटलाई बलियो बनाउने योजना अघि सारिएको छ। साथै बागेश्वरी मन्दिर लाई ‘स्मार्ट बागेश्वरी’ का रूपमा विकास गर्दै डिजिटल व्यवस्थापन प्रणाली स्थापना गर्ने योजना समेटिएको छ।
सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा प्रतिबद्धता पत्रले “भ्रष्टाचार शून्य बाँके–२” अभियानलाई अघि बढाउँदै सार्वजनिक खर्चको पारदर्शी अनुगमन, सबै ठेक्का र योजनाको डिजिटल सार्वजनिक विवरण, अनलाइन गुनासो व्यवस्थापन प्रणाली तथा सामाजिक अडिटलाई अनिवार्य गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ।
समग्रमा, दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्र केवल वाचा होइन, बाँके–२ लाई प्रविधि, सुशासन र सहभागितामार्फत नमुना निर्वाचन क्षेत्र बनाउने स्पष्ट खाका हो। अब मतदाताले यो दृष्टिकोणलाई कत्तिको भरोसा गर्छन् भन्ने निर्णय निर्वाचनले नै गर्नेछ।













Leave a Reply