बाँके – राप्तीसोनारी ४ भट्टीमा नेकपा उम्मेदवार नरेन्द्र पाण्डे जेम्सको जन भेटघाट कार्यक्रम गरेका छन । सो क्रममा स्थानीयले सिमा वासी र भौगोलिक बिकटताका समस्या सुनाएका थिए ।
उनीहरूले विगत देखी नेकपाको पहलमा बिधुतिकरणका पहल भएको भएपनि छिटो पूर्णता दिन पहलकदमी लिन माग गरेका थिए । राप्तीसोनारी गाउँपालिका –४ अन्तर्गत पर्ने खयर भट्टी नयाँ गाउँ नाकामा सम्पन्न जन भेटघाट कार्यक्रमले सिमानामा बसोबास गर्ने नागरिकहरूको वर्षौंदेखि दबिएको आवाज फेरि एकपटक सार्वजनिक गरेको भन्दै नेकपा उम्मेदवार पाण्डेले यसको स्वामित्व लिन आफूहरू तयार रहेको बताए । बाँके जिल्लाको भारतसँग जोडिएको संवेदनशील सीमावर्ती क्षेत्रमा पर्ने यस बस्तीका नागरिकहरूले आधारभूत सेवा र पूर्वाधारको अभाव झेल्दै आएको गुनासो आफ्नो नेतृत्वमा समाधान गर्ने पाण्डेले बताए ।
उनले खानेपानी, सडक, स्वास्थ्यचौकी, विद्यालय तथा विद्युत विस्तारलाई प्राथमिकतामा राख्ने बताए। साथै भूमि समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिएका छन्। स्थानीयवासीले भने प्रतिबद्धतासँगै स्पष्ट कार्ययोजना, समयसीमा र बजेट सुनिश्चितता आवश्यक रहेको जोड दिएका छन्। “सिमानाको विकास नारामा होइन, व्यवहारमा देखिनुपर्छ,” उनीहरूको माग छ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले खानेपानीको चरम अभाव, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको कमी, कमजोर सडक सञ्जाल, अपूर्ण विद्युतिकरण तथा सञ्चार पहुँचको न्यूनता मुख्य समस्या रहेको बताएका छन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्दै आएका नागरिक राष्ट्रको सिमा सुरक्षामा अप्रत्यक्ष रूपमा अग्रपङ्क्तिमा रहे पनि राज्यबाट अपेक्षित सुविधा नपाएको उनीहरूको भनाइ छ। स्थानीयले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व सुनिश्चित नहुनु गम्भीर समस्या भएको औंल्याएका छन्। भूमि सम्बन्धी जटिलता समाधान नगरी सिमानाको स्थायित्व र सुरक्षाको बहस अपूर्ण रहने उनीहरूको धारणा छ। “हामी यहाँ वर्षौंदेखि बसोबास गरिरहेका छौँ, तर कानुनी स्वामित्व नहुँदा सधैँ असुरक्षित महसुस गर्नुपरेको छ,” एक स्थानीयले भने। चुनावी माहोल तातिँदै जाँदा सीमावर्ती बस्तीका नागरिकहरूले आफूहरूलाई उपेक्षित होइन, राज्यको प्राथमिकतामा परेको महसुस गर्न चाहेका छन्। सिमानाको आवाज अब सुन्न मात्र होइन, सम्बोधन गर्नुपर्ने समय आएको स्थानीयको निष्कर्ष रहेको छ।













Leave a Reply