कोहलपुर नगरपालिकाको १२ औं स्थापना दिवस “स्थानीय सरकार समृद्ध नगर, समुन्नत जीवन” भन्ने मूल नाराका साथ भव्य रूपमा सम्पन्न भएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाले स्थानीय सरकारहरू सङ्घीयताको मेरुदण्ड भएको उल्लेख गर्दै सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य र रोजगारीमा कोहलपुर नगरले देखाएको अग्रसरता सराहनीय रहेको बताए। उनले कोहलपुरलाई लुम्बिनी प्रदेशको नमूना नगरपालिका बनाउने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत जनाए।
कार्यक्रमकी विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभासद बसन्ती अधिकारीले यो स्थापना दिवसले सम्पूर्ण नगरवासीको काम कर्तव्य र अधिकारको सुनिश्चितता होस भन्दै आफ्ना धारणा राखेकी थिइन।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले नगर सरकार गठनपछि नगरवासीको पहुँचमा शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सेवाहरू सहज रूपमा पुगेको उल्लेख गर्दै आगामी दिनमा महिलामैत्री र बालमैत्री नगर निर्माणमा नगर कार्यपालिकाले अझ प्रभावकारी कार्यक्रम अघि सार्ने बताए। उनले कोहलपुर लाई शिक्षा स्वास्थ्य र खेल क्षेत्रको हवका रुपमा विकास गर्न योजनाबद्ध तवरले कामहरू भई रहेको बताए । स्थापना दिवसको प्रमुख उद्देश्य नगरको सेवा प्रवाह, विकास, योजना तथा सामाजिक रूपान्तरणमा स्थानीय सरकारको भूमिकालाई उजागर गर्नु रहेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।
कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता सुबेदीले नगरको सम्पूर्ण कामहरू पारदर्शी भएको बताइन।
सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले नगरमा क्रियाशील ७० भन्दा बढी संस्थाहरूको सहकार्यमा सञ्चालन भएका सामाजिक कार्यक्रमहरूको प्रभावकारिता उल्लेख गर्दै आगामी वर्षलाई समावेशी योजनासँगै ‘एक वडा, एक पहिचान’ अभियान अघि बढाइने जानकारी दिए।
स्थापना दिवसको पूर्व सन्ध्यामा बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो, जसमा नगरका सम्पूर्ण १५ वडाका वडाध्यक्षहरू, कर्मचारी, सुरक्षाकर्मी, नगरपालिका अन्तर्गतका बिभिन्न शाखा, सामाजिक सङ्घसंस्था, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, प्रहरी प्रमुख र नगरवासीको उत्साहजनक सहभागिता रहेको थियो। उक्त कार्यक्रममा एस ई ई र कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने छात्र छात्राहरूलाई सम्मान गरिएको थियो। सो कार्यक्रममा विविध सांस्कृतिक झाँकी र स्थानीय स्तरमा विकास भएका नमूना कार्यक्रमहरूको प्रदर्शनले प्रभातफेरी आकर्षक बनेको थियो।
कार्यक्रमको सञ्चालन र समन्वय पत्रकार प्रिया स्मिृती ढकालले गरेका थिए भने समापन मन्तव्य सभापति समेत रहेका कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले राखेका थिए। उनले नगरको विकासमा जनताको सहभागिता, पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याउँदै नगर सरकार नागरिकमैत्री र डिजिटल सेवा प्रवाहमा जोड दिइरहेको बताए।
उक्त समारोहमा नगर सभाका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कर्मचारी, सञ्चारकर्मी, समाजसेवी तथा नगरवासीको उल्लेख्य उपस्थिति रहेको थियो।













Leave a Reply