Advertisement

आइतबार नेपालगञ्जमा वृत्तचित्र देविको विशेष प्रदर्शन 

नेपालमा चलेको १० वर्षे जनयुद्धका समयमा विद्रोही महिला माथि भएको यौनहिंसामा आधारित भएर बनेको वृत्तचित्र देविको नेपालगञ्जमा विशेष प्रदर्शन गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चलन गरेको जनयुद्धमा होमिएकी विद्रोही योद्धा देवी खड्काको जीवनीमा आधारित रहेर बनाइएको वृत्तचित्र यही बैशाख २८ गते आइतबार नेपालगञ्जको क्यू एफ एक्स हलमा विशेष प्रदर्शन गरिने आयोजन अपराजित फाउन्डेसनले जनाएको छ । 

हाल नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य समेत रहेकी नेतृ देवी खड्काले जनयुद्धका समयमा भएका गम्भिर मानव अधिकार उलङ्घनका घटनाका पीडकहरू लाई उन्मुक्ति दिन नहुने बताउँदै द्वन्द्वकालका यौन हिंसा गर्नेहरू अझैपनि राज्यसत्ताको  वरिपरि रहेकाले आफूले न्यायका लागी दवाव दिन यस्तो अभियान सुरु गरेको बताइन ।  जनयुद्धका समयमा महिलामाथि भएको बर्बर हिंसा बारे जानकारी लिन तथा न्यायका लागी दवाव सृजना गर्न अभियान सुरु गरेको बताउँदै उक्त वृत्तचित्र एक पटक हेरिदिन समेत उनले सञ्चारकर्मी , राजनैतिक दलका नेता , जनप्रतिनिधि , प्रहरी प्रशासन , विद्यार्थी , कानुन व्यवसायी , अधिकारकर्मी लगायत सबै लाई आग्रह गरेकी छन ।

फाउन्डेसनका सदस्य तथा द्वन्द्व पिडीतहरुको न्यायका लागी लड्दै आएका भागिराम चौधरीका अनुसार नेपालगञ्जको पुरानो बागेश्वरी हालको क्यू एफ एक्स हलमा दिउसो ३ बजे देखि निशुल्क प्रदर्शन गरिने छ । झण्डै १ घन्टा ३० मिनेट लामो उक्त वृत्तचित्र को निर्देशन सुबिना श्रेष्ठले गर्नुभएको छ । वृत्तचित्र प्रदर्शन पछि हलमै अभियन्ता देवी खड्का र निर्देशक बिच एक अन्तरक्रिया गर्ने कार्यक्रम  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *