बाँके बाँके जिल्लाको आठवटा स्थानीय तहमध्ये खजुरा गाउँपालिका आर्थिक अनुशासनको दृष्टिकोणले उत्कृष्ट देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८०/८१ को प्रतिवेदनअनुसार खजुरा गाउँपालिकाको बेरुजु मात्र १.५० प्रतिशत रहेको छ, जुन बाँके जिल्लामै सबैभन्दा कम हो।
खजुरा पछ्याउँदै कोहलपुर नगरपालिकाको १.६६ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाको २.०५ प्रतिशत, नेपालगञ्ज उपमहानगरपालिकाको २.२९ प्रतिशत, डुडुवा गाउँपालिकाको २,७२ प्रतिशत, जानकी गाउँपालिकाको २.८६ प्रतिशत, नरैनापुर गाउँपालिकाको ३.०२ प्रतिशत र सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकामा ३.३४ प्रतिशत रहेको देखिएको छ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ले आगामी आर्थिक वर्षमा बेरुजुलाई पूर्ण रूपमा शून्यमा झार्ने लक्ष्यसहित योजना कार्यान्वयन भइरहेको बताए। “जनताको विश्वास जित्न र पारदर्शी शासन दिन बेरुजु हटाउनु अनिवार्य छ,” उनले भने।
लेखा अधिकृत प्रदीप सुनारले ‘बेरुजु रहित पालिका’ बनाउने अभियानमा प्रतिबद्धता व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जनप्रतिनिधिहरूको सक्रिय सहयोग र समन्वयका कारण यो सफलता प्राप्त भएको बताए। उनले आगामी वर्षमा थप सुधार हुने आश्वासन दिए।
खजुरा गाउँपालिकाले देखाएको यो आर्थिक अनुशासन अन्य स्थानीय तहहरूका लागि प्रेरणा बन्न सक्ने देखिन्छ।













Leave a Reply