Advertisement

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तरको पढाइ सुरु हुँदै

लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत २०७९ असार १८ गते नेपालगन्जमा स्थापना भएर सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहमा विद्यार्थीहरुलाई अध्यापन सुरु गर्न लागेको छ ।

आर्थिक वर्ष ०८०र८१ बाट इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थाअन्तर्गत स्नातक तहमा विभिन्न चार वटा कार्यक्रममा अध्यापन सुरु गरेको विश्वविद्यालयले आगामी असार महिनाबाट स्नातकोत्तर तहको पढाइ सुरु गर्न लागेको हो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारीले स्नातकोत्तर तहको पढाइका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । “हामीले आर्थिक वर्ष ०८०र८१ बाट विभिन्न चार वटा कार्यक्रममार्फत स्नातक तहको अध्यापन गराइरहेका छौँ, आगामी असार महिनाबाट पहिलोपटक स्नातकोत्तर तहको पनि अध्यापन सुरु गर्दैछौँ ।” उहाँले भन्नुभयो, “आवदेनका लागि सूचना प्रकाशित गरेका थियौँ, ३८ जना विद्यार्थीहरुले आवेदन भर्नुभएको छ । यही जेठ १७ गते प्रवेश परीक्षा राखेका छौँ, त्यसपछि असारबाट नियमित पढाइ सुरु गर्छौँ ।”

कुलसचिव भण्डारीका अनुसार विश्वविद्यालयले स्नातकोत्तर तहमा एम टेक इन आइटी र एम टेक इन कम्प्युटर साइन्सको पढाइ सुरु गर्न लागेको हो । “हामीले पहिलो वर्ष एम टेक इन आइटी र एम टेक इन कम्प्युटर साइन्सको पढाइ सुरु गर्न लागेका छौँ ।” उहाँले भन्नुभयो, “एम टेक इन आइटीका लागि स्नातक तहमा बिसीए, बिआइएम, बिआइटी, आइसीटी एजुकेशन र बिबिआइएस उत्तीर्ण गरेका विद्यार्थीले पढ्न पाउँछन् भने एम टेक इन कम्प्युटर साइन्सका लागि स्नातक तहमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङ उत्तीर्ण गरेकाले पढ्न पाउँछन् ।”

“हामीले दुई वटै कार्यक्रमका लागि पहिलो वर्ष १५–१५ जनाको कोटा छुट्याएका थियौँ, तर पहिलो वर्षनै आवेदन दिने विद्यार्थीको सङ्ख्या धेरै भएका कारण २०–२० जना अध्यापन गराउने सोच बनाएका छौँ ।” कुलसचिव भण्डारीले भन्नुभयो, “जनशक्ति, प्रयोगशाला तथा पाठ्यक्रम लगायत सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ ।”

२०८० साल मङ्सिर १३ गते पहिलो अभिमुखीकरण कार्यक्रम गरेर स्नातक तहको पढाइ सञ्चालन गरेको विश्वविद्यालयले हाल बिटेक इन आइटी, बिटेक इन कम्प्युटर साइन्स एण्ड एआई, बिटेक इन आइटी इन्जिनियरिङ र बिटेक इन सिभिल इन्जिनियरिङ गरी चार वटा कार्यक्रम अध्ययन अध्यापन गराइरहेको छ । विश्वविद्यालयमा हाल १६५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । पहिलो ब्याचका विद्यार्थीहरुले अहिले चौथो सेमेस्टरमा अध्ययन गर्दैछन् । आठ सेमेस्टरको कक्षा सञ्चालन हुने कार्यक्रमहरु सबै चार वर्षे हुन् ।

करिब डेढ वर्षसम्म नेपालगन्जमा रहेको प्रशासनिक भवनमै पढाइ सञ्चालन गरेको विश्वविद्यालयले गत पुस महिनादेखि भने नेपालगन्जको धम्बोझीस्थित कृषि विकास बैङ्कको क्षेत्रीय कार्यालयको तीन वटा भवन भाडामा लिएर त्यहाँबाट पढाइ सञ्चालन गरिरहेको छ । बैङ्कसँग पाँच वर्षका लागि उक्त भवनहरु भाडामा लिने गरी सम्झौता गरेको विश्वविद्यालयले जनाएको छ । इन्जिनियरिङ तथा सूचना प्रविधिको डीनको कार्यालयसमेत यहीँबाट सञ्चालन भएको छ ।

गुणस्तरीय शिक्षा, उपलब्धिमूलक शिक्षा, जागिर सुनिश्चितसहितको शिक्षा तथा समाजका लागि उत्तरदायी विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रदान गर्ने लक्ष्य लिएको विश्वविद्यालयले स्थापनाको छोटो समयमै स्नातकोत्तर तहको अध्यापन सञ्चालन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *