नवलपरासी। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ।
जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प भएको हो। ती स्थानमा वैकल्पिक सडक निर्माणको काम शुक्रबार बिहानदेखि सुरु भएको उहाँले जानकारी दिनुभयो।
बर्दघाट बजारबाट पाँच किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा पाँच दिनअघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि राजमार्गको यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। सो स्थानमा बाढीले तरकारी बोकेको पिकअप भ्यानसमेत बगाएको छ।
फिल्डमा खटिनुभएका ट्राफिक प्रहरी सई तीर्थ भुसालका अनुसार शुक्रबार बिहान सवा दुई बजेदेखि राजमार्गको यातायात ठप्प छ। राजमार्ग खुलाउने प्रयास भइरहे पनि रातभरको वर्षाका कारण कठिनाइ भएको भुसालले जानकारी दिनुभयो।
लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको पिकअप भ्यान बाढीले बगाएको उहाँले बताउनुभयो। भुसालका अनुसार मानवीय क्षति भने भएको छैन।
त्यसैगरी, महेन्द्र राजमार्ग अन्तर्गत चोरमारामा रहेको फलामे पुल भाँचिएपछि निर्माण गरिएको अस्थायी सडक समेत बाढीले बगाएको छ। उता, दुम्किबासस्थित विनयी खोला पुल भाँचिँदा निर्माण गरिएको डाइभर्सन बगाएकाले हजारौँ यात्रु राजमार्गमै अलपत्र परेका छन्।
दाउन्ने र वरपरको क्षेत्रमा बिहीबार राति हल्का वर्षा भएको प्रहरीले जनाएको छ।
महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम यात्रा गर्ने सयौँ सवारीसाधन चोरमारा र बर्दघाटमा रोकिएका छन्।













Leave a Reply