नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले २२औं राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाई तथा २ महिने श्रम अभियानको उद्घाटन गरेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेतादेखि स्थानीय कार्यकर्तासम्मको उत्साहजनक उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य, बाँके जिल्ला इन्चार्ज तथा पूर्व उपसभामुख पूर्णा कुमारी सुबेदी प्रमुख अतिथि रहनुभयो । साथै, बाँके जिल्ला पार्टी संयोजक जेम्स ९नरेन्द्र पाण्डे०, पार्टि नगर अध्यक्ष बल बहादुर खड्का ( अविरल ) प्रदेश, जिल्ला, नगरपालिका तथा वडा तहका नेताहरू, कार्यकर्ताहरू, समर्थक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पार्टीद्वारा आयोजित यो कार्यक्रमले राष्ट्रिय धान दिवसको महत्त्वलाई पुनः स्मरण गराउनुका साथै श्रम र उत्पादनमा आधारित सामाजिक चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको आयोजकले बताएका छन्।
स्थायी समिति सदस्य सुबेदीले उद्घाटन मन्तव्यमा कृषि र श्रमप्रति पार्टीको नीति स्पष्ट रहेको बताउँदै उत्पादनशीलताको मूल्यांकन र श्रमिकको सम्मान नै नयाँ समाजको आधार हुने धारणा व्यक्त गर्नुभयो।
“धान हाम्रो जीवन, हाम्रो संस्कृति र हाम्रो पहिचान हो। माओवादी आन्दोलनले श्रमिक वर्गको मुद्दालाई मूल एजेन्डा बनाएको छ,” सुबेदीले भनिन्।
कार्यक्रमको क्रममा धान रोपाइँ सम्बन्धी सांस्कृतिक झलक, श्रमको मूल्य, कृषि आत्मनिर्भरता र भूमि सम्बन्धी चेतनात्मक सन्देशहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रमसँगै पार्टीले घोषणा गरेको २ महिने श्रम अभियानले देशभर श्रमिक र उत्पादक वर्गसँग प्रत्यक्ष संवाद गर्ने, जनताको जीवनस्तर र सामाजिक चेतनाको उठान गर्ने कार्य गर्ने बताइएको छ। अभियान अन्तर्गत विभिन्न सार्वजनिक काम, सरसफाइ, वृक्षारोपण, कृषि प्रोत्साहन जस्ता गतिविधिहरू सञ्चालन गरिनेछ।













Leave a Reply