कोहलपुर नगरपालिकाले आमा सुरक्षा कार्यक्रम सञ्चालन स्वीकृत प्राप्त नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले प्रभावकारी सेवा प्रवाह नगरेका कारण सम्झौता नवीकरण नगरिएको बताएको छ ।
कोहलपुर नगरपालिकाका कारण आमा सुरक्षा (प्रसूति सेवा) कार्यक्रम स्थगन गर्नु परेको मेडिकल कलेजको भनाइमा कुनै सत्यता नभएको भन्दै कोहलपुर नगरपालिकाले निःशुल्क प्रवाह गर्नुपर्ने आमा सुरक्षा कार्यक्रममा समेत शुल्क लिएको गुनासो आएपछि नवीकरणमा पुनःविचार गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
कोहलपुर नगरपालिकामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले नवीकरणको प्रक्रिया समेत मेडिकल कलेजले विलम्व गरेको बताए । आचार्यले आमा सुरक्षा कार्यक्रम ९प्रसूति सेवा० स्थगन गरेर नागरिकप्रति मेकिडल कलेजले अत्यन्तै अमानवीय व्यवहार प्रदर्शन गरेको भन्दै सह्य हुन नसक्ने चेतावनी समेत दिए ।
उनले मेडिकल कलेजसँग आमा सुरक्षा कार्यक्रम तत्कालका लागि रोकिएपनि भेरी अस्पतालसँग भने यथावत रहेको प्रष्ट्याए । त्यसका लागि गर्भवतीलाई अस्पतालसम्म लैजाने र घरसम्म ल्याउने जिम्मेवारी लिँदै उनले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।
नवजात शिशु सुरक्षा कार्यक्रमका लागि सम्झौता गरि कार्यान्वयन गर्ने, अस्पताल स्थापना हुँदाका बखत गरिएका सम्झौताहरु पूर्णरुपमा कार्यान्वयन गर्ने, औषधिजन्य फोहोर उचित व्यवस्थापन गर्ने लगायतका विषयमा अस्पताल प्रतिवद्ध भए आमा सुरक्षा कार्यक्रमको सम्झौता नवीकरणमा पुनःविचार गर्न सकिने समेत नगर प्रमुख आचार्यले बताए ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, वडा नं.५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए ।
यता कोहलपुरमा क्रियासिल माओवादी केन्द्र लगायतका राजनैतिक दलहरूले भने कोहलपुरका सुत्केरीको उपचारमा अर्को भरपर्दो सेवा संस्था नभएको तथा नेपालगन्ज जान समस्या हुने भएकाले नेपालगन्ज मेडिकल कलेज बाट नियमन सहितको सेवा प्रवाह गर्न गराउन माग गरेका छन ।













Leave a Reply